काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा पेस भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने विरुद्धको मुद्दा आइतबार कास्की जिल्ला अदालतमा पेस भएको छ।
कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार रविविरुद्धको अभियोगपत्र अदालतमा पेस गरिएको छ। साढे चार सय पेज लामो अभियोगपत्र र सम्बन्धित प्रमाण अदालतमा पेस गरिएको र अदालतले रुजु तथा अध्ययन गर्न थालेको छ।
कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।
गोर्खा मिडिया प्रालिमा लामिछानेका साझेदार छविलाल जोशीलगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो कायम गर्दै मुद्दा चलाउनुपर्ने प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको थियो।
रविसहित पछिल्लो चरणमा पक्राउ परेका पाँचै जनाविरुद्ध मुद्दा दर्ता गर्ने प्रयोजनका लागि आइतबार बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ।
गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो।
अदालतमा मुद्दा दर्ता भएसँगै रवि आरोपित बाट अभियुक्त बन्नेछन्। कुनै पनि फौजदारी कसुरको अभियोग लागेपछि अदालतमा मुद्दा दर्ता भइसकेकेको अवस्थामा प्रतिवादीलाई अभियुक्त भन्ने गरिन्छ।