तुलसिपुर, ३ – पौष!
दाङको तुलसीपुरमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका ५ निवासी ५० बर्षीया लिला भुसाल रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ११३५ नम्बरको स्कुटिलाई विपरित दिशाबाट आउदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले तुलसीपुर ७ हात्तिखौवा ओरालोमा साढे १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो।
दुर्घटनामा परी गम्भिर घाइते भएकी लिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा पौने २ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो।
स्कुटि चालक मृतककै छोरा २७ बर्षीय निमलाल भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ। पिकअप र स्कुटिलाई नियन्त्रणमा लिएको र पिकअप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।