सूर्यदर्शन सहकारी ठगी प्रकरणः पक्राउ परेकाहरुको आजैबाट थुनछेक बहस।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान अन्तिम चरणमा पुगेको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट जारी बयान अन्तिम चरणमा पुगेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा जोडिएका सात जनाको बयान सकिएको हो। रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ। उनीहरुसँगको बयान सकिएसँगै आज मंगलबार नै थुनछेक बहस हुने अदालतका श्रेस्तेदार खनालले जानकारी दिए।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध एक करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ। गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो।