काठमाण्डौ, १०- कात्तिक।
कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजाय सुनाइएको छ। भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ। फाँसीको सजायँ सुनाइएका आठ भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु रहेको बताइएको छ।
उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए। उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ। भारतको विदेश मन्त्रालयले कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारी सँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको विज्ञप्ति मार्फत जनाएको छ। फाँसी दिने फैसला बाट सतब्ध भएको र विस्तृत फैसला कुरिरहेको भारत सरकारले जनाएको छ।
उनीहरुका परिवारका सदस्यहरु र कानुनी टिमसँग सम्पर्कमा रहेको र यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका भन्दै यो कुरालाई कतारको प्रशासन समक्ष राख्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।