आफ्नै साथीको हत्या गरी फरार रहेका २ जना ब्यक्तिहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। जनकपुरको धान खेतमा मृत भेटिएका युवकको कार्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा शव भेटिएको थियो।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महराको साथीबाटै हत्या भएको खुलेको हो। प्रहरीले हत्या आराेपमा जनकपुरधाम-२४ काे बसहियाका पवन सहनी र मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेकाे हाे।
जटहीमा रहेकाे नेपाल-भारत सीमा पारिबाट लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा भाटाले प्रहार गर्दा उनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ। पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।