सहकारी ३३ करोड रुपैयाँ हिनामिना गरेका व्यवस्थापक र लेखा समितिका संयोजक पक्राउ।

ललितपुर, १६- कात्तिक।

सहकारी संस्थाको ३३ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोपमा व्यवस्थापक र लेखा समितिका संयोजक पक्राउ परेका छन्। ललितपुरको गाबहालमा रहेको नेसनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटीका व्यवस्थापक दिनेशकुमार पन्त र लेखा समिति संयोजक रवीन्द्रकुमार नेम्कुललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले आफन्तका नाममा नियमविपरीत कर्जा प्रवाह गरी संस्थालाई धराशायी बनाएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सो सहकारीमा भएको हिनामिनाको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

३३ करोड २२ लाख ५८ हजार दुई सय ८३ रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

व्यवस्थापक पन्तले श्रीमती एकता पन्त, छोरा दिवश पन्त, भाइ उत्तम पन्तलाई विनाधितो कर्जा प्रवाह गरेका थिए। त्यस्तै, लेखा समितिकै संयोजक रहेका नेम्कुलका साथै कृष्ण खत्री र रूपा घिमिरेको नाममा पनि कर्जा प्रवाह भएको थियो। रूपा घिमिरे तथा गोपालरन पहेली र अनुप राजथलालाई एउटै जग्गा धितो राखी कर्जा दिएका थिए।

कर्जा नै नतिरी घिमिरेको नाममा रहेको जग्गा फुकुवा गरेकोसमेत सिआइबीले जनाएको छ। यस्तो ठगीमा संस्थाका तत्कालीन कार्यकारी अध्यक्ष  राजेशहरि जोशीको पनि मिलेमतो देखिएको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *