दाङ, १९- कात्तिक।
डोटीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज बिहान साढे २ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप डोटीको शिखर नगरपालिका-६ अण्यौल स्थित के आई सिंह राजमार्गमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरी कोइरालाका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो।
दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका-५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको एसपी कोइरालाले जानकारी दिए।